नयाँ

डम्बर थामीको ब्लगमा स्वागत छ

Monday, May 10, 2021

पार्टी अभियान स्थगित गरेर कोरोना रोकथाममा केन्द्रित गरिएको छ : नेता पोखरेल (अन्तर्वार्ता)

 


काठमाण्डौं - नेकपा एमालेका प्रभावशाली नेता वाग्मती प्रदेश कमिटीका अध्यक्ष आनन्द प्रसाद पोखरेल भन्नुहुन्छ, " जनता पहिले भन्ने सिद्धान्तका आधारमा उनीहरुको स्वास्थ्य र बाँच्न पाउने अधिकार रक्षाको अभियानमा पार्टी विमुख हुँदैन र अहिलेको पार्टी काम पनि त्यही हो जस्तो लाग्छ ।"

प्रस्तुत छ, एमालेको आगामी रणनीति, पार्टी एकताको प्रयास र सम्भावना, कोरोना महामारी, कम्युनिष्ट आन्दोलनमा देखिएको संकट लगायतका सन्दर्भमा पोखरेलसँग गरिएको कुराकानीको संपादित अंश :

कोरोनाको दोस्रो लहर व्यापक बन्दै गएको छ, यहाँले नेकपा एमाले वाग्मती प्रदेश कमिटीको नेतृत्व सम्हालिराख्नु भएको छ, प्रदेश कमिटी के गरिरहेको छ ?

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अहिले प्रत्येक पालिका स्तरमा र जिल्ला पार्टी कार्यालयमा पनि कोरोना हेल्प डेक्स राख्ने र उच्च दरमा बृद्धि भैरहेको कोरोनाको कहर नियन्त्रणका लागि जनचेतना अभिबृद्धि गर्ने, स्वयंसेवकिय काम गर्ने, अप्ठेरामा परेकाहरुलाई उपचारमा सहजीकरण र समन्वय गर्ने, कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि पहलकदमी गर्ने, निर्वाचित जनप्रतिनिधिहरुलाई कोरोना उपचारका लागि थप व्यवस्थापन गर्न आईसोलेसन क्वारेन्टाईन निर्माणका लागि समन्वय र निर्देशन दिने काममा पार्टी कमिटीलाई परिचालित गरेका छौं ।

गत चैत्र २८ बाट दुई महिने कार्यक्रम अघि सारेका थियौं । जेठ २५ गते सक्नेगरी परिपत्र जारी गरेका थियौं । यो अवधिमा पार्टीका सबै जिल्ला संगठन कमिटीलाई आयोजक कमिटीमा रुपान्तरण गर्ने, त्यसैगरी पालिका स्तरिय कमिटीहरु निर्माण गर्ने, २५ गतेभित्र प्रदेशका सबै स्थानीय तहमा कमिटी घोषणा गर्ने, बैठक सञ्चालन गर्ने, गाउँस्तरका प्रत्येक पार्टी कार्यकर्तासम्म पुग्ने र पार्टी सदस्यता पुर्याउने, नविकरण असार मसान्तसम्म सक्ने कार्ययोजना बनाएका थियौं । त्यो कार्ययोजना कोरोना जोखिमलाई मध्येनजर गर्दै स्थगित गरेका छौं ।

भनेपछि पार्टीको सांगठानिक गतिविधिको सट्टा पार्टी पंक्ति कोरोना महामारी रोकथाम र नियन्त्रणको काममा केन्द्रित हुन्छ ?

स्वभाविक रुपमा यो मानविय कर्तव्य पनि हो । सरकारमा भएको पार्टी भएको नाताले त्यो दायित्व झन बढी छ । क्षति कम गर्न र संक्रमण फैलिन नदिनका लागि नेकपा एमाले वाग्मती प्रदेशले अत्यन्त क्रियाशील ढंगले काम गर्नेछ । जनता पहिले भन्ने सिद्धान्तका आधारमा उनीहरुको स्वास्थ्य र बाँच्न पाउने अधिकार रक्षाको अभियानमा पार्टी विमुख हुँदैन र अहिलेको पार्टी काम पनि त्यही हो जस्तो लाग्छ ।

एमाले भित्रको असन्तुष्ट माधव पक्षसँग कुनै सम्वाद/समन्वय भैरहेको छ या अब त्यो समुह बाहेकनै अघि बढ्ने निष्कर्षमा पुग्नुभएको हो ?

होईन, हामी त्यस्तो निष्कर्षमा पुग्दैनौं । उहाँहरुपनि नेकपा एमालेका नेता कार्यकर्ताहरु हुनुहुन्छ । उहाँहरुले पार्टीलाई फुटपरस्त र विसर्जनतिर लैजाने जुन गतिविधि गरिरहनुभएको छ, त्यो बेठिक छ, त्यसो गरिनुहुन्न भन्ने हाम्रो मान्यता हो । त्यसलाई हामी स्वीकार गर्ने पक्षमा छैनौं । पार्टी कार्यकर्ताहरुको सन्दर्भमा वाग्मती प्रदेशमा हामीले कसैलाई कारबाही गरेका छैनौं । खाली पार्टी गतिविधिमा संलग्न नभएको कारण जिम्मेवारी हेरफेर गरिएको मात्रै हो । पार्टी सदस्यता र कमिटीबाटै हटाईएको छैन । त्यसैले हामी कसैलाई काराबाही गर्ने पक्षमा छैनौं । सबैसँग टेलिफोन र अन्य माध्यमबाट समन्वय, छलफल र संवाद भैरहेको छ ।

छलफल संवादको उपलब्धी त खासै देखिएन नी, उहाँहरु समानान्तर कार्यक्रमलाई जारी राख्ने भनीरहनुभएको छ ?

उहाँहरुलाई गलत काम नगर्नुस् भनेर आग्रह गरेका छौं । एमालेको विधान अनुसार पार्टी कमिटीका म्याद सकिएका छन् । पार्टी एकताका कारण नयाँ परिस्थिति पनि सिर्जना भयो । त्यसकारण कमिटीहरुलाई बैधानिक बनाउनका लागि एकतह माथिल्लो कमिटीले पुर्नगठन गर्नसक्छ भन्ने मान्यताका साथ विधानको धारालाई प्रयोग गरेर वाग्मती प्रदेशका १३ वटै जिल्लामा आयोजक कमिटी गठन गरेका छौं ।

समन्वय/सहकार्य गर्न लागि पार्टीमा फर्किनुस् भनेका छौं । त्यस्ता गतिविधिले पार्टी आन्दोलन र जनतामाथि धोका हुन्छ । त्यसैले पार्टीमा फर्केर जिम्मेवारी लिनुस् भन्ने आग्रह गर्न चाहान्छु । कारबाही होईन, समन्वय गर्न खोजिरहेका छौं । यसो गर्दागर्दै पनि साथीहरुको गलत गतिविधिलाई जारी राख्नुभयो भने पार्टी विधि, विधान र अनुशासनमा चल्ने भएकाले ध्यानाकर्षण गराउनुपर्ने स्थिति हुनसक्छ । त्यस्तो स्थिति नआओस् भन्नका लागि अत्यन्त संयमताका साथ अघि बढिरहेका छौं ।

केन्द्रमा समानान्तर गतिविधि गर्नेहरुलाई कारबाही गर्ने गरिसकिएको छ, प्रदेश चाँही उदार हुन खोजेको हो र ?
स्वभाविक रुपमा केन्द्रका मान्छेका गतिविधिका कारण तलका गतिविधि भएका हुन् । तलका साथीहरु आफ्नै स्वेच्छाले भन्दापनि बाध्यता, सम्बन्ध आदी कारणले, आग्रह, कत्तिको कम्युनिष्ट बिरोधी सोचपनि होला । यी चिन्तनले गरेको स्थिति हो । तलका साथीहरु भ्रमबस, भुलबस, स्थानीय अन्तरबिरोधको कारणले गर्दा तलमाथि भएको रहेछ भने त्यसलाई सच्याएर पार्टीलाई एकताबद्ध बनाउन, मुलधारमा ल्याउन सकिन्छ भन्ने हाम्रो सदासयता हो । उहाँहरुप्रतिको माया हो । उहाँहरु फर्किनुहुन्छ भन्ने विस्वास हो ।

त्यही विस्वासका आधारमा हामी अत्यन्त सहिष्णु ढंगले अघि बढेका छौं । त्यत्तिमात्रै होईन, जो साथीहरु समानान्तर गतिविधि गरिराख्नुभएको छ, उहाँ साथीहरुलाई पनि योग्यता र क्षमता अनुसार जिम्मेवारी दिन प्रतिवद्ध छौं । केन्द्रको नीति निर्देशन अनुसार नै गर्ने हो, फरक होईन, यो हामीले कार्यसम्पादन गर्दा फरक शैली अपनाएको मात्रै हो ।

त्यसोभए माधव पक्षबिनाको नेकपा एमालेको परिकल्पना गरिएको छैन भन्नुपर्यो होईन ?

माधव पक्ष होईन, हामी नेकपा एमालेका हिजोका कार्यकर्ता बिनाको पार्टीको परिकल्पना गरेका छैनौं । सबै एमालेका कार्यकर्ताहरु जो जहाँ हुनुहुन्छ पार्टीमा आबद्ध भएर अघि बढ्नुहुनेछ । जसले पार्टी एकता बिरोधी गतिविधि गरिराख्नुभएको छ, कार्यकर्ताहरु उहाँहरुको सति जानुहुन्न भन्ने हाम्रो विस्वास छ ।

हाम्रो विधान, नीति, कार्यक्रम, जवज र समृद्धिको अभियान बिनाको नेकपा एमाले हुन सक्दैन । महाधिवेशनले अघि सारेको नेतृत्व बिनाको पार्टी कल्पना गर्न सक्दैनौं । हाम्रो सदासय माधवजीहरु पनि पार्टीमा आएर काम गर्नुस् भन्ने हो । आत्मासमिक्षा गर्नुस्, आत्मालोचित हुनुस् । खाली कुण्ठा पालेर केपी ओलीलाई हटाउनुपर्छ भनेर बिरोधीहरुसँग गठबन्धन गर्दै पार्टी, संसदिय दल विघटनको लागि कर्णाली प्रकरण निम्त्याउने काम भएको छ । त्यो आपराधिक काम हो ।

यस्तो गतिविधि गरेर कम्युनिष्ट बिरोधी तत्व वित्तीय एकाधिकार पुँजीवाद, साम्राज्यवाद र विस्तारवादी क्षेत्रिय पृथकतावादी सोच भएका विदेशी प्रतिक्रियावादीहरुलाई खुसि बनाउने काम नगर्नुस् । कम्युनिष्ट पार्टीका नेता र आफ्नै पार्टीका अध्यक्षले सरकारको नेतृत्व गरिराख्नुभएको छ, उहाँलाई हटाएर दक्षिणपन्थीको नेतृत्वमा सरकार बनाउने जुनखालेको प्रचार, भ्रम र साँठगाँठ भएको छ, यस्ता अवाञ्छित गतिविधि रोक्नुपर्छ । पार्टीको नीति, सिद्धान्त, विचारको आधारमा सामुहिक ढंगले चल्ने परिपाटी स्थापित गर्नुपर्छ । त्यसकारण व्यक्तिवादी ढंगले पार्टीलाई फुटाउने र विभाजनतिर लैजाने काम बेठिक हुन् ।

त्यही त, तँपाईहरु उहाँहरुको मात्रै बढी गल्ती कमीकमजोरी देख्ने, आत्मालोचना गरेर पार्टीमा फर्किनुस् भनेर आग्रह मात्रै गरिराख्ने तर कतिपय उहाँहरुका ईन्ट्रेष्टहरुपनि सम्बोधन गर्नुपर्ने होलानी ?

व्यक्तिगत रुपमा हामी सबैको ईन्ट्रेष्ट सम्बोधन गर्छौं । गुटबन्दीको आधारमा कसैको पनि ईन्टे«ष्ट सम्बोधन हुँदैन । नेकपा एमालेभित्र गुटबन्दीको अब कुनै ठाउँ छैन । यही पार्टी भित्र छालफल गर्ने, छलफलबाट आएका निष्कर्षलाई आत्मासाथ गरेर अघि बढ्ने हो । पार्टी भन्दा बाहिर गएर अन्यत्र बैठक गरेर कम्युनिष्ट आन्दोलन अघि बढ्न सक्दैन ।

केपी ओली नेतृत्वको एमाले कति सहिष्णु छ भन्दा यो सरकारले अघि सारेका अध्यादेशहरु टेवुल गर्ने बेलामा बहिस्कार गर्नेहरुपनि नेकपा एमाले संसदिय दलमा छन् । त्यति ठुलो जघन्य अपराध गर्नेहरुलाई पनि कारबाही नगरी पार्टी एकताका लागि त्याग गर्ने केपी ओली हो । यसलाई कसैले कमजोरी ठान्नु भएन ।

प्रधानमन्त्री निकट एकजना जिम्मेवार प्रभावशाली केन्द्रिय नेताको हैसियतले भनिदिनुस् न, माधव पक्षसँग अब एकताको सम्भावना छ की छैन ? छ भने त्यसको सुत्र के हुनसक्छ ?

म माधव नेपाल समुह भनेर भन्दिन । उहाँ एकजना नेकपा एमालेको नेता हुनुहुन्छ । अहिलेपनि निलम्बल मात्रै हो, कारबाही गरेको छैन । उहाँहरुले त केपी ओलीलाई पार्टी सदस्यबाटै कारबाही गर्नुभएको थियो । अब हामीले व्यक्तिगत रुपमा सबैसँग छलफल बहस गर्छौै । उहाँहरुले बनाएको घर भन्नुहुन्छ, त्यसो हो भने घरभित्रै आएर छलफल बैठक गर्ने, हो । बैठक बहिस्कार गरेर अगाडी बढ्ने जुन गतिविधि छ त्यसबाट ब्याक हुनुपर्छ ।

हामी त माधव नेपाल, झलनाथ खनालसँग मात्रै होईन, प्रचण्डसँगपनि एकता होस् भन्ने पक्षमा छौं । सिंगो वामपन्थी एकता होस् भन्ने पक्षमा छौं । आन्दोलन नै विघटनतिर लाने विचारबाट मुक्त भएर सिधा मनले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्छ, भन्ने सबै वामपन्थी स्वतन्त्र विचार राख्ने शक्तिलाई हामी स्वागत गर्छौं । त्यसकारण हामी ऐतिहाँसिक द्धन्द्धात्मक भौतिकवादलाई स्वीकार गर्ने मान्छेहरु अन्तिमसम्मपनि एकताको पक्ष, एकताको विन्दुहरु, सम्भावनाहरु हुन्छन् भन्ने कुरामा विस्वास गर्ने हुनाले हामी एकताको पक्षमा छौं । र एकता गर्न चाहन्छौं ।

नेकपा एमाले कार्यकर्ताबीच त, एकताको जरुरी नै छैन, स्वतः एमालेका नेता कार्यकर्ता हुन् । एकताको खाँचो एमाले बाहिर रहेका शक्तिहरुसँग हो । त्यो पहल पनि अघि बढीरहेको छ ।

कथमकदाचित माधव नेपाल पक्ष फुटको अवस्थामा पुग्यो भने पार्टीलाई ठुलो क्षति हुन्छ भन्ने कुरा त स्वीकार गर्नुहुन्छ ?

होईन, कानुनी ढंगले मात्रै नफुटेको, व्यवहारिक ढंगले त समानान्तर कमिटी बनाएर चलिरहेको अवस्था छ । उहाँहरु त फुटाउनै लागिरहनु भएको छ । फुटाउने नै कसम खानुभएको छ । मनोवैज्ञानिक ढंगले पार्टी फुटाईसक्नुभएको छ । तर हाम्रो जोड र वल कहाँनेर हो भने ईमान्दार कार्यकर्ता भ्रमबस त्यहाँ लाग्नुभएको छ । स्थानीय तहमा सूर्य चिन्हबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ, उहाँहरुले सोच्नुपर्यो, उहाँहरुको राजनीतिक भविष्य, राजनीतिक जिन्दगी समाप्त पार्नेगरी केही तत्वहरु लागेको अवस्थामा त्यसबाट मुक्त हुनुपर्ने आजको आवश्यकता हो ।

जहाँसम्म क्षतिको कुरा छ, पार्टी ठुलो बनाएर पनि हेर्यौं । पार्टी ठुलो बनाउँदा त्यही पार्टीको संसदिय दलको नेताका बिरुद्धमा त्यही पार्टीको अर्को नेता खडा गरेर दक्षिणपन्थी शक्तिहरु प्रधानमन्त्री किस्तीमा हालेर जाने, त्यतिमात्रै होईन, अहिले केपी ओली बाहेक जसलाई पनि प्रधानमन्त्री स्वीकार गर्छौं भन्ने कुरा छ । उहाँहरु के चाहानुहुन्छ, भन्ने कुरापनि प्रष्ट रुपमा देखिईसकेको छ । त्यसकारण यस्ता खालका राष्ट्र, राष्ट्रियता, अखण्डता, मुलुकको संविधान, अन्तराष्टिय मुल्यमान्यता, दुईपक्षिय सम्बन्ध, कम्युनिष्ट आन्दोलन, त्यसको दृष्टिकोण, विचारलाई कमजोर बनाउने हिसावले गरिने चीजले पार्टी ठुलो बनाएरपनि केही हुने रहेनछ भन्ने सिकिईसकेका छौँं ।

त्यसैले अब सदृढ कम्युनिष्ट पार्टी, शुद्धिकरणसहितको कम्युनिष्ट पार्टी, अनुशासन, आचरणसहितको कम्युनिष्ट पार्टी, दृष्टिकोणसहितको कम्युनिष्ट पार्टी आजको आवश्यकता हो । राष्ट्रिय स्वाधिनताको पक्ष लिने, राष्ट्रिय आत्मासमर्पणवादको विरुद्धमा लाग्ने, अखण्डताको रक्षा गर्ने र कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट नयाँ ढंगले बैचारिक र सैद्धान्तिक ढंगले एकिकरण गर्ने, कम्युनिष्ट पार्टीको सांगठानिक सिद्धान्त अबलम्बन गर्ने र मुलुकमा संविधान निर्माणपछि २०६२/६३ को जनक्रान्तिपछि जुन उपलब्धी प्राप्त गरेका छौं, त्यो राजनीतिक उपलब्धीलाई आर्थिक समृद्धिसँग जोड्ने, समाजवाद उन्मुख अर्थतन्त्रको विकासमा लाग्ने र हामीले अंगिकार गरेको जनताको बहुदलिय जनवादलाई आत्मासाथ गरेर अघि बढ्नसक्ने शक्तिसँग एकता हुन्छ ।

व्यक्ति र टाउको गनेर वलियो हुन्छ की कमजोर हुन्छ भन्यौं भने जतिसुकै टाउकाहरुको झुण्डहरु वरिपरी राखेर बस्दापनि त्यो आन्दोलन वलियो हुँदैन । त्यसकारण हिजोका अध्यक्ष, पुर्वप्रधानमन्त्रीहरुको झुण्डले मात्रै कम्युनिष्ट आन्दोलन बलियो हुन्छ भन्नेबारेमा चाँही विस्वस्त हुन सकिएन । नीति सिद्धान्त र विचारका आधारमा कम्युनिष्ट पार्टी एकताबद्ध हुने हो ।

त्यसैले नेकपा एमाले फुट्दैन, एकताबद्ध रहन्छ । केही असन्तुष्ट मान्छेहरु हिजोपनि कम्युनिष्ट पार्टीको स्थापना कालदेखि छोड्दै आउँदै गरेका हुन् । आउनपनि छुट छ, जानपनि छुट छ, तर यसको मुल स्प्रीड र ध्येयबाट दाँयाबाँया गरेर आन्दोलनलाई बलियो बनाउन सकिँदैन । त्यो मुल्यमान्यतासहित एकताबद्ध हुने साथीहरु सबै हाम्रो आन्दोलनको मुल पक्षमा रहनुहुन्छ ।

तीनै तहका सरकारहरुमा एमालेको वर्चस्व छ । जनताले अनुभुति गर्नेगरी प्रभावकारी काम भएन भनिन्छ, अब जनताको विस्वास डगमगाएको जस्तो लाग्दैन ?

ठिकै हो, हिजो हामी एउटै साझा घोषणापत्र बनाएर चुनाव लड्यौं । चुनाव लड्ने नेताहरुले त आफ्नै पार्टीका संसदिय दलका नेता हटाउन थाल्नुभयो । त्यो एकताले के नतिजा दियो ? झण्डै दुई तिहाईको नतिजाले केही दिएन । त्यसैले त्यो खालको एकताको अर्थ रहँदैन । जनताको बीचमा भ्रम पैदा गर्ने प्रयत्न भएको छ । त्यो भ्रम विस्तारै हामी चिर्दै जानेछौं । अर्को कुरा अहिलेको नेकपा एमाले भनेको पुरानो मात्रै होईन, नयाँ नेकपा एमाले हो । नयाँ ढंगले अघि बढ्ने, नयाँ ढंगले पुर्नगठित भएको शक्ति हो । माओवादी केन्द्रको ठुलो पंक्ति एमालेमै मिसिएको छ । मिसिने क्रम जारी छ ।

कोही व्यक्ति छुटे भने आन्दोलन कमजोर हुन्छ भनेर मात्रै चर्चा र छलफल गर्नुहुन्न । कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउनका लागि हामी हिजो हिडिरहेको बाटो मात्रै पर्याप्त छैन । नयाँ ढंगले कम्युनिष्ट आन्दोलनको पुर्नगठन, विचार, संगठनमा पुर्नसंरचना, राजनीति र अर्थतन्त्रमा पुर्नसंरचना, सामाजिक संरचनामा पुर्नसंरचना गरेर जानुपर्ने चुनौती छ । त्यसलाई लिड गरेर जानसक्ने कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्दछ । त्यो गर्नसक्ने पार्टी भनेको केपी ओलीले नेतृत्व गरेको नेकपा एमाले हो ।

सरकारहरुको कामकारबाही चाँही किन प्रभावकारी नभएको ?

गत चुनावमा जुन खालको धरातल निर्माण गरेका थियौं, दुई तिहाई बरावरको सिट पनि प्राप्त गर्यौं तर सिट प्राप्त गरेकै साथीहरु यो आन्दोलनलाई कमजोर बनाउन सरकारलाई कमजोर बनाउन र असहयोग गर्ने काम गरिरहे । जसको कारणले हामीले गर्न चाहेको जति काम गर्न सकेनौं । घोषणापत्रमा उल्लेख गरिएका कुरा पुरा गर्न दिईएन । जब उहाँहरु अलग हुनुभयो, अब कम्युनिष्ट पार्टीलाई नयाँ ढंगले पुर्नगठन गर्ने अभियान चलायौं ।

त्यसभन्दा यता कामले गति लिएको देख्न सकिन्छ । अहिले पार्टी अध्यक्ष र प्रधानमन्त्रीले अघि सारेको र उहाँलाई काम गर्ने वातावरण भएदेखिन् मुलुकले छिट्टै विकासको फड्को मार्छ भन्ने खालको स्थिति देखिईसकेको छ । त्यसकारण जनतामा एमालेप्रति थप विस्वास बढेर गएको छ । त्यसकारण निराश हुनुपर्ने कुनै कारण छैन ।

त्यसो भए कम्युनिष्ट विचार, आन्दोलनको रक्षा, बदलिँदो परिस्थितिमा सांगठानिक संरचना, संचालनका विधि, पद्धति प्रणाली, जनमत, जनाधार जे भनौं त्यसलाई बचाउने र अझ विस्तार गर्ने एमालेको आगामी कार्ययोजना, कार्यदिशा कस्तो हुन्छ ?

अहिलेका मुख्य तीन वटा कार्यभार हुन् । एउटा कार्यभारवैचारिक, राजनीतिक, आर्थिक सामाजिक सबै हिसावले संगठन सुदृढिकरण÷शुद्धिकरण गर्ने हो । दोस्रो यो कम्युनिष्ट पार्टीको सदृढिकरण/शुद्धिकरणको तयारीपछि समृद्धिको अभियानलाई लिएर जाने, तेस्रो आगामी निर्वाचनको तयारीमा जुट्ने र अहिले भएका उपलब्धीको रक्षा गर्दै नयाँ उपलब्धीका लागि अघि बढ्ने, नयाँ उपलब्धीका लागि अप्ठ्यारो सिर्जना गर्ने, अबरोध गर्ने तत्वलाई परास्त गरेर अघि जानका लागि त्यसको भण्डाफोर गर्दै कम्युनिष्ट पार्टी र भावी नेतृत्वमा मुलुकको नाभी गाडीएका मान्छेहरुलाई निर्वाचित जनप्रतिनिधि बनाउने र त्यसको आधारमा नीति र कार्यक्रम बनाएर जाने ढंगे सोच्नुपर्छ ।

वाग्मती प्रदेश सरकार भर्खरै विस्तार गर्नुभयो, कत्तिको सुरक्षित छ ? कर्णाली दोहोरिने अवस्था आउँछ की आउँदैन ?
मैले त्यस्तो कल्पना गरेको छैन । त्यस्तो हुँदैन भन्ने कुरामा विस्वास गर्छु । अब लुकेर छुरा हान्ने मान्छे भएभने त अर्को कुरा हो । अहिलेसम्म नेकपा एमालेको संसदिय दल एउटै छ । त्यसो गर्नुहुन्न भन्ने मलाई विस्वास छ ।

अर्को विषय चाँही अन्य राजनीतिक पृष्ठभुमीका नेता कार्यकर्ताहरु तान्ने यहाँहरुको प्रयास पनि जारी देखिन्छ । फरक राजनीतिक पृष्ठभुमिबाट आएका नेता कार्यकर्तासँग बुझाई दृष्टिकोणहरुमा अन्तरविरोध होला । उनीहरुको व्यवस्थापनको कुरा चाँही कसरी गर्नुहुन्छ ?

विचारमा सहमत भएर आएका कारण त्यस्तो अन्तरविरोध होला जस्तो लाग्दैन । हामी त्यसलाई मिलाएर लिएर जान जुन ढंगले लाग्नुपर्ने हो त्यही ढंगले लाग्छौं । अलिअलि कार्यशैलीमा फरक र भिन्नता त हुन्छ नै व्यक्ति व्यक्तिबीचमा । त्यसलाई सम्बोधन गरेर तलमाथि हुन नदिने प्रयत्नमा लाग्नेछौं ।

अन्तिममा उदाहरणका लागि चरिकोट–मुढे सडकको स्तरोन्नती लगायत अन्य ठुला विकास आयोजनाको कार्यान्वयन र जनसरोकारका विषय सम्बोधन गर्नेतर्फ चाँही यहाँहरुको पार्टीले ध्यान नदिएको साँचो हो नी ?

पार्टीको प्रश्नमात्रै भएन । दोलखा जिल्ला भाग्यमानी छौं । संघीय सांसद कमरेड पार्वत गुरुङ नेपाल सरकारको पनि प्रवक्ता हुनुहुन्छ । त्यसकारण उहाँसँग बेलावेला छलफल बहस भएकै छ । हामीले भन्ने सरकारलाई हो, प्रधानमन्त्रीलाई हो, त्यो कुरा भएकै छ । उहाँले पनि पहलकदमी गरिरहनुभएको होला भन्ने मलाई विस्वास छ ।

प्रदेश सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पनि सरस्वती बस्नेतले पाउनुभएको छ । त्यसैले विकासको गतिविधिहरुको बारेमा पार्टीले गर्यो/गरेन भन्दापनि सरकारमै महत्वपुर्ण प्रतिनिधित्व भएको कारण त्यस्ता चीजहरुलाई गतिका साथ अघि बढ्छ भन्ने विस्वास लिएको छु । कहाँ कहाँ कमिकमजोरी भएका छन्, त्यसलाई पनि सच्याएर अघि बढाउने नेतृत्व गरिरहनुभएको छ भन्ने लाग्छ ।

No comments:

Post a Comment



शिक्षक सेवा आयोग तयारी


शिक्षक सेवा आयाेग परिक्षा नमुना प्रश्नपत्र